मुख्य मन्त्रीमा नुवाकोटको दुई दावी

विदुर । बागमती प्रदेशको मुख्य मन्त्रीमा सत्ता गठबन्धनबाट दुई जनाको दावेदारी प्रस्तुत भएको छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पुर्व संघीय सांसद बहादुरसिंह लामा तामाङ र नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं बागमती प्रदेश सभाका निर्वतनमा उपसभामुख राधिका तामाङले आफ्नो दावी प्रस्तुत गरेका हुन् ।

सत्ता गठबन्धनले नै बागमती प्रदेशमा सरकार बनाउन पुग्ने भएपछि मुख्यमन्त्री लिनका लागि आफ्नो दलभित्रै लविङ्ग सुरु भएको छ । काँग्रेसका पाउदा इन्द्र बानियाँ र माओवादी केन्द्रले पाउदा शालिकराम जमरकट्टेलको दावेदारी बलियो रहेको राजनीति वित्तमा चर्चा भइरहेपनि उनीहरूको विकल्पका रुपमा आएको दुई पार्टी भित्रको नयाँ नाम दुवै नुवाकोटका हुन् । काँग्रेसका बहादुरसिंह लामा तामाङ नुवाकोट प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित हुन् । माओवादी केन्द्रका राधिका तामाङ नुवाकोट प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित हुन् । बागमती प्रदेश सभाको निर्वतमान उपसभामुख समेत रहेका राधिका तामाङ केन्द्रको राज्यमन्त्रीको जिम्मेवारीसमेत सम्हालेको अनुभव र क्षमता भएकोले मुख्यमन्त्रीमा दाबी रहेका छन् । लगातार दुई पटक निर्वाचित राधिका तामाङलाई माओवादीभित्र र अन्य पार्टीमा समेत आगामी सभामुखको रुपमा चर्चा गर्ने गरिएको पाइन्छ । नुवाकोटको प्रथम महिला मन्त्री रुपमा तामाङले कृषि राज्यमन्त्रीको पद पनि सफलता पूर्वक निर्वाह गरिसकेका छन् ।

तामाङले २०६१ सालमा माओवादीको नुवाकोट जनसरकार प्रमुख भएर समेत काम गरिसकेका छन् । उनको चाहना र पार्टीको जिम्मेवारी बहन गर्दै गरेका कामको आधारमा पनि तामाङको मुख्यमन्त्रीमा दाबी रहनु स्वभाविक रहेको माओवादी नेता कार्यकर्ताहरूको भनाई रहेको छ ।

विद्यार्थी जीवनबाटै राजनीतिमा सक्रिय रहदैँ आएका तामाङको राजनैतिक जीवन संर्घषशील रहेको छ । नुवाकोटको राजनीतिमा तामाङ समुदायलाई प्रतिनिधित्व गर्दै त्यसमा पनि महिला भएकै कारण राजनीतिक जीवन चुनौतिपूर्ण रहेने नै भयो । संघर्ष संगै पार्टीले दिएको जिम्मेवारी निर्वाह गर्दै नुवाकोटको विकाशमा सक्रिय सहभागिता रहेको छ । प्रदेशमा महिला नेतृत्व आवश्यक रहेको छ आफूले त्यस जिम्मेवारीलाई स्वीकार गर्ने भन्दै उनको मुख्यमन्त्रीमा दाबी रहेको छ ।

यस्तै, दुई पटक काँग्रेस केन्द्रीय सदस्य रहेका, संविधानसभा सदस्य र प्रतिनिधिसभा सदस्य रहिसकेका नेता प्रदेशमा झरे पनि निर्वाचनताका चर्चा नगरिए पनि नेपाली काँग्रेसका नुवाकोटबाट निर्वाचित प्रदेश सभा सदस्य बहादुरसिंह लामा तामाङ काँग्रेसका मुख्यमन्त्रीमा सर्वाधिक चर्चामा छन् । उनलाई प्रदेशसभा सदस्यमा चुनाव लड्न नमान्दा काँग्रेस नेताहरूले मुख्यमन्त्रीकै दाबी गर्न सकिने आश्वासन दिएका थिए ।

बागमती प्रदेश सभापति तथा मकवानपुर २ ख बाट निर्वाचित ईन्द्रबहादुर बानियाँलाई भावी मुख्यमन्त्रीका रुपमा काँग्रेसले चर्चा गरिरहँदा एकाएक मुख्यमन्त्रीमा बहादुरसिंह लामा तामाङ पनि दाबेदारका रुपमा देखिएका छन् । काँग्रेस संस्थापन र शेखर कोइराला पक्षबीच भागबण्डा हुँदा मुख्यमन्त्रीको दौडमा लामाले बाजी मार्ने सम्भावना प्रबल छ । बानियाँलाई देउवा पक्षले अगाडि सारे लामालाई शेखर कोइरालाहरूले साथ दिने सम्भावनालाई नर्कान नसकिने देखिन्छ ।

२०४३ देखि राजनीतिमा सक्रिय तामाङ निर्माण व्यवसायी पनि हुन् । लामा २०५४ म गाविस अध्यक्ष बनेका थिए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका प्रियपात्र डा. प्रकाशशरण महत, सहमहामन्त्री महालक्ष्मी डिना उपाध्याय मुख्यमन्त्रीमा बहादुरसिंह लामा तामाङलाई अघि सार्न सहमत त थिए नै, थपिए नेपाली काँग्रेसका पुराना नेता, पूर्वमन्त्री एवं सिन्धुपाल्चोकबाट निर्वाचित सांसद मोहनबहादुर बस्नेत ।

‘सिन्धुपाल्चोकमा एक्लै लड्न सक्छु, माओवादी चाहिन्न’ भनेर अड्डी कसेका बस्नेत नुवकोटमा बहादुरसिंह लामा तामाङलाई प्रदेशमा उम्मेदवार बनाइएपछि गठबन्धनमा सक्रिय भए, माओवादीलाई पनि जिताए र आफू पनि जित्दै सिन्धुपाल्चोकमा एमालेलाई निल गरिदिए । अहिले बस्नेत खुलेर लामाका पक्षमा लबिङमा छन् । बस्नेतको समर्थन लामालाई नै छ ।

महतले मकवानपुर आएर भावी मुख्यमन्त्री भनेर बानियाँका पक्षमा भाषण गरे पनि पार्टीमा शेखर कोइराला समूहलाई मिलाउनु पर्नेलगायतका बानियाँका आन्तरिक कमजोरीसँगै चिसिएको सम्बन्धका कारण बहादुरसिंह लामा तामाङका पक्षमा लबिङमा उत्रिएको बालुवाटार स्रोतले बताएको छ ।

२६ मंसिर २०७९, सोमबार १०:४६



तपाईको प्रतिक्रिया