एक उपसभापति बाहेक सबै पदमा महत प्यानल अगाडी

रमेश महत २९ मतले केदारनरसिंह भन्दा अगाडी

नुवाकोट (विदुर) । नेपाली कांग्रेस जिल्ला कार्य समिति नुवाकोटको नेतृत्व चयनको लागि हिजो भएको निर्वाचनको मतगणना जारी रहेको छ । अहिलेसम्म ५०५ मत गणना भएको छ । भर्खरै सार्वजनिक भएको परिणाम अनुसार जिल्ला सभापतिका उम्मेदवार रमेशकुमर महतले अग्रता लिएका छन् । उनले २५५ मत प्राप्त भएको छ । सभापति पदका अर्का उम्मेदवार डा. केदारनरसिंह केसीको २२६ मत रहेको छ । केसी २९ मतले पछाडी छन् ।

उपसभापतिमा भने केसी प्यानलका उपेन्द्र कुइँकेल र महत प्यानलका सन्तमान तामाङ अगाडी छन् । दुई जना निर्वाचित हुने सो पदमा पाँच जनाको उम्मेदवारी परेको छ । सन्तमान तामाङको २४२ मत, उपेन्द्र कुइँकेलको २२८ राजु थापाको २१० मत, होमबहादुर तामाङको १७८ मत र ठाकुरजंग पाण्डेको २२ मत रहेको छ । पाण्डे स्वतन्त्र उम्मेदवार हुन् ।

सचिवमा बैकुण्ठ मिश्रको २८२ मत, श्रीराम श्रेष्ठको २४० मत, शिवप्रसाद दाहालको १८४ मत, र शंकर पाण्डेको १७६ मत रहेको छ ।

सहसचिव पदका उम्मेदवार उत्तम पाठकको २६९ मत, यादवप्रसाद नेपालको २३० मत, झमकराज गुरुङको २०७ मत र रुपबहादुर तामाङको १७९ मत छ ।

अहिलेसम्मको परिणामले केसी प्यानलबाट उपसभापतिका उम्मेदवार कुइँकेल मात्रै जित्ने सूचीमा छन् । अन्य सबै पदमा महत प्यानलका उम्मेदवार छन् । अहिले क्षेत्र नं. १ को प्रदेश निर्वाचन क्षेत्र क तर्फको मतगणना सकिएर क्षेत्र ख को सुरु भइरहेको छ ।

नेपाली काँग्रेसको १४ औं महाधिबेशन अन्तरगत जिल्ला कार्यसमितिको निर्वाचनका लागि शुक्रबार राती १२ बजेसम्म मतदान भएको थियो । जसमा १७ सय ४७ मत खसेको थियो । हिजोको मतदानमा २१ जना अनुपस्थित थिए । क्षेत्र नम्बर १ को क प्रदेशबाट बाट ४ ६२ मत, ख प्रदेशबाट ४५७ मत, क्षेत्र नम्बर २ को क प्रदेशबाट ४१८ मत र ख प्रदेशबाट ४१० मत खसेको छ ।

११ मंसिर २०७८, शनिबार ११:५०



तपाईको प्रतिक्रिया