सभापति र सचिवकै वडामा काँग्रेस गठवन्धन बाहिर

काँग्रेसले पञ्चकन्या वडा नं. २ मा एक्लै चुनावमा जाने भनी वडा अध्यक्ष सहित तोकेर गरेको निर्णय । तस्बिर : इमेज साप्ताहिक

विदुर । सत्ता पक्षको गठबन्धनको जिल्ला स्तरिय संयन्त्रको बैठक तीन पटक बसेको छ । चैत १८ देखि हालसम्म तीन वटा जिल्ला स्तरिय संयन्त्रको बैठक बसेको हो । यस बीचमा पालिका स्तरमा समेत एउटा बैठक सम्पन्न भएको छ ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले चुनावी तालमेलका लागि नुवाकोटमा घनिभुत गृहकार्य गरिरहेको छ । गठवन्ध संयन्त्रको बैठक बस्दै गर्दा नुवाकोटमा पार्टीमा जिम्मेवार भुमिका निर्वाह गरिसकेको नेताहरूले पार्टी परित्याग गर्ने र गठवन्धन भित्रको दलले वडामा एक्लै चुनाव लड्ने निर्णय गरेको आउन थालेको छ । साथै संयन्त्रमै रहेको दलका नेताहरूले बैठक पछि बैठक बस्ने प्रक्रियालाई अल्छिपूर्ण मान्न थालेका छन् ।

गएको हप्ता नेपाली काँग्रेसका पुर्व जिल्ला उप सभापति यमबहादुर थापा नेकपा एमालेमा प्रबेश गरेका छन् । उनले जिल्ला अध्यक्ष बद्री मैनालीको घरमै पुगेर टिकाटाला गरे । उनको तयारी पञ्चकन्या गाउँपालिकाको अध्यक्षमा एमालेबाट उम्मेदवारी दिने बताइएको छ । उनीसंगै काँग्रेसका नेता भगवान पौडेलपनि एमालेमा प्रवेश गरे । उनीहरूको पार्टी परित्यागका विषयमा काँग्रेसले स्प्रष्टिकरण नै सोधेको छ । सामाजिक सञ्जालमा देखिएको गतिविधिबाट अनुशासन उलंघन भएको भन्दै अनुशासन समितिका संयोजक श्रीराम श्रेष्ठले उनीहरूलाई पत्र लेखेका छन् ।

जिल्ला संयन्त्रले बुधवार (चैत ३० गते) गठबन्धन दलका सबै पालिका प्रमुख र जिल्ला प्रमुखहरूको बैठक राखेको छ । जिल्ला संयन्त्रको हालसम्मको तीनबटा बैठकले मुख्य निर्णय एउटा मात्रै आएको छ– ‘संघीय सरकारमा रहेका गठवन्धन दलहरूको केन्द्रीय संयन्त्रको निर्णय अनुसार गठवन्ध दल भित्रका दलहरू बाहेक अन्य राजनैतिक दलसंग चुनावी गठवन्ध नगर्ने ।’

गठवन्धन दल बीच स्थानीय तह भागबण्डाको मापदण्ड कस्तो बन्ला र कुन पालिका कुन दलको नेतृत्वमा पुग्ला भन्ने आम चासोको विषयलाई ठुला दुई दलले अन्तिम समयतिर मात्रै खुलासा गर्ने रणनीति बनाएको देखिन्छ । काँग्रेस र माओवादी ‘लाष्ट आवर’ मा मात्रै ‘फ्ल्यास्’ हुन चाहेको छ भने समाजवादी र जसपाले छिट्टै टुङ्ग्याउन चाहेको छ । ‘हामीले पनि त चुनावी तयारी गर्नुपर्यो समयमानै पालिका प्रमुख÷उपप्रमुख र वडा तहसम्मको समीकरणको खाका आउनु पर्ने हाम्रो माग हो’ जनता समाजवादी पार्टी (जसपा) नुवाकोटका अध्यक्ष ईश्वरकुमार राउतले भने । यही मनशाय नेकपा एकीकृत समाजवादीको पनि देखिएको छ । समाजवादी नुवाकोट अध्यक्ष गोबिन्द नेपाली बुधवार हुने छलफलबाट निचोड निकाल्नुपर्ने मनस्थितिमा छन् । ‘चुनावी रणनीतिहरू अवलम्बन गर्नका लागि पनि आन्तरिक तयारीलाई बेलैमा निष्कर्षमा लैजानु आवश्यक छ’ नेपालीले भने ।

तर नेपाली काँग्रेसलाई भने पालिका भागबण्डा चाडै हुँदा नेता/कार्यकर्तामा विचलन आउने त्रास छ । नेतृत्व गर्न चाहाने नेताहरू आफ्नो उम्मेदवारीको सुनिश्चितता नदेखेमा गठवन्धन बाहिरको पार्टीमा जाने भय काँग्रेसमा छ । पुर्व जिल्ला उपसभापति यमबहादुर थापा एमालेमा प्रवेश गरेपछि काँग्रेस झस्किएको छ । तर काँग्रेस नुवाकोट सभापति रमेशकुमार महत भने पालिका बाडफाँड जटिल प्रक्रिया रहेकोले हत्तार गर्न नहुने बताउछन् । उनी पार्टी भित्रको आन्तरिक छलफल र गठवन्धन दलको छलफलबाट मापदण्ड तय गर्नुपर्ने भएकोले केही दिन लम्बिनु स्वाभाविक रहेको बताउँछन् । ‘गठवन्धनलाई अटुट राख्न र हाम्रा कार्यकर्ताहरूको मनोभावना सम्वोधन गर्नका लागि पनि बढीभन्दा बढी छलफल र अन्तरक्रियाहरू आवश्यक छ’ महतले भने ।

माओवादी केन्द्र यो गठवन्धनलाई बुद्धिमत्ता रुपमा सदुपयोग गर्ने रणनीतिमा रहेकोले ‘पर्ख र हेर’को अवस्थामा देखिएको छ । आज भोलिनै टुङ्ग्याइहाल्नु पर्ने अवस्थामा माओवादी केन्द्र देखिएको छैन भने धेरै ढिला गराउने पक्षमा पनि माओवादी केन्द्र छैन । नेकपा एमाले लगायतका सत्ता गठवन्धन बाहिरका दलहरू चुनावी तयारीमा कसिलो र आक्रमक रुपमा लागिसकेको अवस्थामा धेरै ढिला गरी हुने सत्ता पक्षको गठवन्धनले मुस्लिम निम्त्याउन सक्नेमा माओवादी केन्द्र सचेत देखिएको छ । ‘बैज्ञानिक र जनपक्षिय निर्णयका लागि हामी चार दल जिम्मेवारीपूर्ण रुपमा छलफलमा छौं, औपचारिक छलफल मात्रै नभई हामी चार दल अनौपचारिक छलफलमा पनि उत्तिकै छौं’ माओवादी केन्द्र नुवाकोटका संयोजक पुष्प लामिछानेले भने । चैत ३० गतेको बैठकबाट धेरै विषयबस्तुहरू समाधान हुने र तालमेलको मार्गचित्र प्रष्ट हुने उनको तर्क छ ।

काँग्रेस सुर्यगढी गाउँपालिकाको निर्णय

गठवन्धन दलको संयुक्त निर्णय तथा अपिल बाहिर आउन थालेका छन् । किस्पाङ गाउँपालिका, विदुर नगरपालिका लगायतका स्थानीय तहले गठवन्धन कायम गर्ने निर्णय गरिसकेका छन् । उता पञ्चकन्या गाउँपालिकाको वडा नं. २ मा भने गठवन्धन दल भित्रको काँग्रेसले एक्लै चुनाव लड्ने निर्णय गरेको छ । कुनैपनि दलसंग नमिलिकन वडाको चुनावमा काँग्रेस जाने भन्दै वडा अध्यक्षमा रामशरण श्रेष्ठको नाम वडा समितिले सिफारिस गरेको छ । यो वडा काँग्रेस नुवाकोट सभापति महत, जिल्ला सचिव बैकुण्ठ मिश्रको वडा हो । आफ्नै वडामा गठवन्धन टुटेको विषयलाई पार्टी सचिव मिश्रले ठुलो रुपमा लिएका छैनन् । उनले केन्द्रीय संयन्त्रको निर्णय र निर्देशन अनुसार वडा तहसम्म गठवन्धन हुने भएकोले वडाले गरेको निर्णय कार्यान्वयन नहुने बताए । यो वडामा नेकपा एमालेबाट वडा अध्यक्ष निर्वाचित छन् ।

गठवन्धन भित्रका दलहरू वडादेखि उम्मेदवार टुङ्गो लगाउँदै सिफारिस गर्ने गृहकार्यमा छन् । काँग्रेसका सम्भावित उम्मेदवारहरूको विवरण सामाजिक सञ्जालमा धमाधम आइरहेको छ । गाउँपालिका अध्यक्ष देखि वडा अध्यक्ष, वडा सदस्यहरूको नाम समेत काँग्रेसले सार्वजनिक गर्न थालिसकेको छ । माओवादी केन्द्रले पनि आफ्नो तर्फबाट पालिका प्रमुख देखि वडा सदस्यसम्मको सम्भावित उम्मेदवारहरूको टुङ्गो लगाइसकेको भएपनि त्यसलाई सार्वजनिक गरेको छैन । गठवन्धन कायम हुने भएकोले आफ्नो पार्टीको भागमा कुन पालिका र कुन वडा पर्छ, त्यसपछि मात्रै सार्वजनिक हुनु राम्रो रहेको बुझाई माओवादी केन्द्र नुवाकोटका सह–ईञ्चार्ज हिरानाथ खतिवडाको रहेको छ । ‘अहिले नाम बाहिर लैजादा भोलि पार्टीको भागमा त्यो पद वा पालिका, वडा नपर्ला कार्यकर्ता तथा नेतामा फरक भाव उत्पन्न हुनसक्ला भनेर हामीले यसलाई सार्वजनिक नगर्न भनेका छौं’ खतिवडाले भने ।

 एमाले प्रवेश गरेपछि सोधिएको स्प्रष्टिकरण

२८ चैत्र २०७८, सोमबार १३:१२



तपाईको प्रतिक्रिया