सञ्चारमैत्री बन्दै स्थानीय सरकार

विदुर । नुवाकोटका स्थानीय सरकारहरुले यसपटक सञ्चार माध्यामको विकास र पत्रकारिताका लागि नीति तथा कार्यक्रम ल्याएका छन् । यस अघि विदुर नगरपालिकाले मात्रै जिल्लाका सञ्चार माध्यामहरुको विकासका लागि नीतिगत निर्णय गरेर सहयोग गर्दै आएको थियो ।

आउँदो आर्थिक वर्षका लागि यस पटक अधिकांश गाउँपालिकाहरुले सञ्चार माध्याम र पत्रकारिताको विकासका लागि नीति र कार्यक्रममा उल्लेख गरेका छन् । यसमा पञ्चकन्या, म्यागाङ, तादी, शिवपुरीले नीति तथा कार्यक्रममा समोवेश गरेको छ ।

पञ्चकन्या गाउँपालिकाको नवौं गाउँसभाबाट रेडियो सञ्चालन तथा विकास पत्रकारिता पुरस्कार घोषणाको नीति तथा कार्यक्रम पारित गरेको छ । मङ्गलबार सम्पन्न गाउँसभाबाट पालिका क्षेत्रभित्रका कार्य योजना तथा गतिविधिहरु पालिकाबासी बीच पु¥याउन आफ्नै एफएम रेडियो सञ्चालन पनि गर्ने घोषणा गरेको हो ।

गाउँसभाबाट पालिका क्षेत्रभित्रका विकास निर्माण कार्य योजना तथा गतिविधिहरुको सूचना तथा जानकारी पालिकावासीहरु माझ पु¥याउन समाचार लेखन मार्फत् महत्वपूर्ण योगदान पु¥याउने जिल्लाका एकजना पत्रकारलाई विकास पत्रकारीता पुरस्कारबाट पुरस्कृत गर्ने भएको पालिका अध्यक्ष तेजबहादुर तामाङले जानकारी दिनुभएको छ ।

यस्तै म्यागाङ गाउँपालिकाले लोक कल्याणकारी विज्ञापन नीतिलाई अपनाउँदै विकास पत्रकारिता पुरस्कार स्थापना गरेको अध्यक्ष आशा तामाङले जानकारी दिनुभएको छ । शिवपुरी गाउँपालिकाले पनि अहरेक वर्ष विकास पत्रकारितामा उतकृष्ठ योगदान गर्ने पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । यसको साथै लोक कल्याणकारी नीति समेत गाउँ सभाले पारित गरेको अध्यक्ष रामकृष्ण थापाले जानकारी दिनुभएको छ । उता तादी गाउँपालिकाले नुवाकोट जिल्लामा सञ्चालित सञ्चार माध्यामहरुलाई समानुपातिक विज्ञापन उपलब्ध गराउने गरी छुट्टै शिर्षक तयार गरेको छ । त्यसका लागि दुई लाख ६० हजार रुपैयाँ विनियोजन गरिएको गाउँपालिका अध्यक्ष नारायणप्रसाद पाण्डेले जानकारी दिनुभएको छ ।

यसै बीच, तादी गाउँपालिकाको आगामी आर्थिक वर्षको लागि बजेट पारित गर्न आयोजित सातौं गाउँ सभाले छत्तिस करोड उन्नाईस लाख रुपैयाँको बजेट पास गरेको छ । यस्तै, आर्थिक ऐन २०७७, विनियोजन ऐन २०७७ पनि पारित भएको छ ।

२० असार २०७७, शनिबार ११:०७



तपाईको प्रतिक्रिया