गुठीको जग्गा व्यक्तिको नाममा गराउन आग्रह

विदुर । सुर्यगढी गाउँपालिकाले गुठीको नाममा रहेको लालपुर्जा व्यक्ति नाममा गराइदिन अर्थमन्त्री डा. प्रकाशशरण महतको ध्यानाकर्षण गराएको छ ।

बुधवार सुर्यगढी गाउँपालिकाका अध्यक्ष सन्तबहादुर घले तामाङ र नेपाली काँग्रेस सुर्यगढी गाउँपालिकाका उप–सभापति कालू तामाङ, सचिव बासु लम्साल लगायतले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई भेटी साबिक लच्याङ गाविस अन्तरगतका १,३,४,५,६,७,८ वडाहरूका सम्पुर्ण जग्गाहरू भैरबी गुठीको नाममा रहेकोले सो जग्गाको लालपुर्जा सम्बन्धित ब्यक्तिहरूको नाममा उपलब्ध गराउन ध्यानाकर्षण गराएको हो ।

भैरबी गुठीको नाममा जग्गाको लालपुर्जा रहेकोले स्थानीयहरू विभिन्न प्रकारका सेवा सुविधाहरूबाट बन्चित भएकोले आफुहरूले अर्थमन्त्री महतको ध्यानाकर्षण गरेको सुर्यगढी गाउँपालिकाका अध्यक्ष सन्तबहादुर घलेले जानकारी दिए ।

उनले परापुर्व कालदेखी लच्याङका स्थानीयहरूले जग्गाको जोतखन र भोगचलन गर्दै आएपनि आफ्नो नाममा लालपुर्जा नहुँदा अनेक समस्या भोगिरहेको बताए । समस्या सामाधनको लागि प्रकृया अगाडी बढाई कार्यान्वयनको व्यवस्था मिलाउन अर्थमन्त्रिको ध्यानाकर्षण गरिएको बताए । भेटको क्रममा अर्थमन्त्री महतले छिट्टै लच्याङवासीका समस्याको समाधान गरिदिने प्रतिवद्धता व्यक्त गरेको बताएका छन् ।

४ भाद्र २०८०, सोमबार ०५:१९



तपाईको प्रतिक्रिया