पानीमा राजनीति नगरौं, प्यासको श्राप लाग्ला : श्रेष्ठ

ढिकुरे । नेकपा नुवाकोटका सचिवालय सदस्य पुर्णलाल श्रेष्ठले नुवाकोटको पुरानो र ठुलो खानेपानी योजना ड्वाँचे खानेपानी सम्पन्न गर्नका लागि राजनीतिक रुपमा उत्पन्न गराइएको विवादले नागरिकहरू दशकौंदेखि प्यासी रहेको बताए ।

उनले उपभोक्ता समिति गठन प्रक्रृया नै अड्काएर नागरिकहरूको घरदैलोमा खानेपानी पु-याउने कार्य अवरुद्ध नगर्न आग्रह गरेका छन् । उपभोक्ता समिति गठन हुन नसक्दा योजना सम्पन्न गर्नका लागि सरकारी विनियोजन गर्दै आएको रकम वर्षेनी फिर्ता भइरहेको उनले बताएका छन् ।

लिखु गाँउपालिका वडा नम्बर २ मा सुन्दरीटार युवा क्लबले आयोजना गरेको न्यानो कपडा, कम्बल बितरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता श्रेष्ठले उक्त धारणा राखेका हुन् । ड्वाचे खानेपानी योजना सम्पन्न हुँदा सुर्यगढी गाँउपालिकाको सबै वडा, लिखु गाँउपालिकाको २ वटा वडा र विदुर नगरपालिकाको ३ वटा वडामा खानेपानी वितरण गर्नेछ । उपभोक्ता समति समेत गठन हुन नसक्ने योजनाको काम रोकिदै आएको छ । ‘नागरिकहरूलाई प्यासमा राखेर गर्ने राजनीतिको श्राप लाग्छ,’ श्रेष्ठले भने– ‘त्यसैले पानीमा राजनीति नगरौं ।’

खानेपानी योजना सम्पन्न गर्नका लागि सर्वसम्मत रुपमा नयाँ उपभोक्ता समिति गठन गर्नका लागि उनले आग्रह गरेका छन् । त्यसका लागि जिल्ला समन्वय समिति नुवाकोटसंग पनि आफुले माग गरेको उनको भनाई छ ।

शनिवार भएको कार्यक्रममा लिखु गाउँपालिका वडा नं. २ का विपन्न ५५ परिवारलाई मण्डी वितरण भयो । लायन्स क्लब अफ काठमाडौ डाउन टाउन र लायन्स क्लब अफ काठमाडौ मिर्मिरेको सहयोगमा क्लबले मण्डी बितरण गरेको क्लवका अध्यक्ष चिरञ्जीवी लामिछानेले जानकारी दिएका छन् ।

सोही कार्यक्रममा बोल्दै नेकपा नुवाकोटका सचिवालय सदस्य पुर्णलाल श्रेष्ठले नागरिकहरूलाई नेकपाको घोषणा पत्र अनुसारको काम भएको छ/छैन खबरदारी गर्न पनि आग्रह गरेका छन् ।

निर्वाचनका समयमा जनप्रतिनिधिहरूको तर्फबाट आफै गाउँ गाउँमा घोषणा पत्र बोढ्दै हिडेको उल्लेख गर्दै उनले त्यो अनसुसारको काम नभएको भए सचेत गराउन आग्रह गरेका छन् । ‘घोषणा पत्र तपाईको घरमा सुरक्षित होला, नभए म उपलब्ध गराउछु, हामीले भने अनुसारको काम नभएको भए सचेत गराउनुहोस्, नेता र जनप्रतिनिधिहरूलाई सुधार्ने तपाईहरूले नै हो’ श्रेष्ठले भने ।

कार्यक्रममा लिखु गाँउपालिकाका उपाध्यक्ष रोजिना राई, वडा नम्बर २ का अध्यक्ष भिमबहादुर घले, लायन्स क्लब अफ डाउन टाउनका उपाध्यक्ष प्रदिपप्रसाद पाठक ‘सुमन’, नेकपाका लिखु ईञ्चार्ज धर्म अधिकारी, सह ईञ्चार्ज विवेक ढकाल, सुनचाँदी हस्तकला ब्यबसायी महासंघका केन्द्रिय अध्यक्ष केशर सेञ्चुरी, लायन्स क्लब अफ काठमाडौ मिर्मिरेका अध्यक्ष शेरबहादुर पाठक, कोषाध्यक्ष रामकृष्ण श्रेष्ठलगायतले मन्तब्य राखेका थिए ।

६ पुष २०७७, सोमबार १०:५२



तपाईको प्रतिक्रिया